बाराकी एक विवाहित युवतीलाई ललाई फकाई भारतको राजधानी दिल्लीस्थित वेश्यालयमा बेच्न लैजाँदै गरेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टा बस्ने २४ वर्षीय सुरज गुप्ता रहेका छन् । प्रहरीका अनुसार सुरजले युवतीलाई विभिन्न किसिमका लोभ देखाएर भारत लैजान खोजेका थिए । उनले युवतीलाई आफ्नो सानीआमाले सञ्चालन गर्दै आएको दिल्लीको वेश्यालयमा बेच्ने योजनासहित सीमा पार गराउने क्रममा भारतीय सुरक्षाफौजको हातमा परेका हुन् ।
गुप्तालाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्ला, झरौखर थाना क्षेत्रको जमुनियाबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछमा गुप्ताले युवतीलाई सानीआमाले सञ्चालन गर्ने यौन व्यवसायमा लग्ने उद्देश्य रहेको स्वीकार गरेका छन् ।
पीडित युवती सिम्रौनगढकै अमृतगन्ज बस्ने २० वर्षीया विवाहित महिला हुन् । गुप्ताले उनलाई फरक–फरक लोभ र आश्वासन दिँदै भारत लैजान खोजेका थिए। सिमा क्षेत्रमा कडाइका साथ निगरानी गरिरहेका एसएसबीले शंका लागेपछि सोधपुछ गरेको र पछि युवतीको उद्धार गरिएको भारतीय पक्षले जनाएको छ ।
पक्राउ परेका सुरज गुप्ता र पीडित युवतीलाई एसएसबीले रौतहट जिल्ला प्रहरीको जिम्मा लगाएको थियो । रौतहट प्रहरीले सो प्रकरणबारे आवश्यक अनुसन्धान गरेपछि बारा जिल्ला अन्तर्गत इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जिम्मा दिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार अहिले आरोपी सुरज गुप्ताविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । पीडित युवतीको बयान लिइरहेको र घटना विस्तृत अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ ।
नेपाल–भारत खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करीजस्ता गम्भीर अपराध भइरहेको सन्दर्भमा यो घटनाले फेरि मानव बेचबिखनको जोखिम उच्च रहेको देखाएको छ ।