१० जेठ, वीरगञ्ज — मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ईञ्जिनियर बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा वीरगञ्जको भिस्वा होटलमा ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशमा पर्यटन विकास र लगानी प्रवर्द्धनका विविध पक्षमा गहन छलफल गरिएको थियो ।
१ लाख रोजगारीको लक्ष्य कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुशवाहाले यस वर्षको बजेटमा १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए । रोजगारी सिर्जनाका लागि कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइने र कृषकहरूलाई पनि पर्यटनतर्फ आकर्षित गर्ने योजनामा सरकार लागेको बताए ।
मधेशमा पर्यटक आकर्षणका सम्भावना उनले मधेश प्रदेशमा पर्यटक आकर्षित गर्ने पर्याप्त स्थानहरूको अभाव रहेको स्वीकार गर्दै नयाँ सोचसहितको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । “बाहिरबाट मधेश घुम्न किन आउँछन् ? यहाँ के विशेष छ ? भन्ने कुरामा गम्भीरतापूर्वक सोचेर योजना बनाउनुपर्छ,” मन्त्री कुशवाहाले भने ।
प्रमुख व्यक्तित्वहरूको सहभागिता कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बलका उपरीक्षक राधेश्याम धिमाल, होटल संघ मधेश प्रदेश अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ‘घुमौं मधेश, बुझौं मधेश’ अभियानका मधेश प्रदेश संयोजक विकास ठाकुरले गरेका थिए। स्वागत मन्तव्य होटल संघका केन्द्रीय सचिव एवं होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया, सन्तोष कुशवाहा, अभिलाष गुप्ता, अर्जुन चौधरी, जगत राई लगायतका पत्रकार तथा होटल व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।