वीरगन्ज, जेठ ११ —
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहयोगमा वीरगन्ज-१६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नेरामावी नगवामा साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम आइतबार सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले कक्षा ८ र ९ का ७६ जना विद्यार्थीलाई साइबर अपराधका प्रकार, यसले पुर्याउने नोक्सानी, कानुनी सजाय तथा जरिवाना, र कसरी जोगिन सकिन्छ भन्ने विषयमा वृत्तचित्र प्रदर्शन गरी विस्तृत प्रशिक्षण दिएका थिए ।
उनले विद्यार्थीहरूलाई सचेत र सुरक्षित रहन विशेष आग्रह पनि गरेका थिए । प्रशिक्षणका क्रममा विद्यार्थीहरूले आआफ्ना जिज्ञासा र प्रश्नहरू सोधेपछि प्रमुख अतिथिले ती सबै बुँदाहरू राम्ररी व्याख्या गरी उनीहरूलाई सन्तुष्ट पारेका थिए । सो कार्यक्रम सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, स्कुलका शिक्षक सरिता खड्गी लगायत शिक्षक तथा विद्यार्थीहरूको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।