प्रतिनिधिसभाको बैठक बिहीबार (जेठ १६ गते) अपराह्न १:३० बजे बस्ने गरी स्थगन गरिएको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक बिहीबार तोकिएको जानकारी दिएको हो ।
यसअघि आज (बुधबार) बिहान ११:०० बजेका लागि तोकिएको बैठक करिब दुई घण्टा ढिलो गरी दिउँसो १:०० बजे सुरु भएको थियो। बैठकमा ‘भिजिट भिषा’ को विषयमा अनियमितता भएको भन्दै प्रमुख प्रतिपक्षी दलसहितका सांसदहरूले विरोध जनाएका थिए । उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेपछि बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो ।
त्यसपछि संसद् सचिवालयले आजै पुनः दिउँसो ३:३० बजे बैठक बस्ने जानकारी दिएको थियो । तर प्रमुख दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि सारिएको हो ।