सशस्त्र प्रहरी बल पर्साले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, बरैनिया निवासी करिब ४० वर्षीय बीरेन्द्र प्रसाद गुप्तालाई ६ लाख नगदसहित नियन्त्रणमा लिएको छ ।
गुप्ता स्रोत नखुलेको ठूलो रकमसहित वीरगंज आउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका प्रवक्ता डिएसपी देवेन्द्र बहादुर सिंहले जानकारी दिए । उनले बताएअनुसार रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म भंसारबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१६ इनर्वा स्थित त्रिभुवन राजपथ सडकखण्डमा भारततर्फबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गुप्तालाई रोकेको थियो ।
प्रहरीले प्रदेश २–०३–००४ प ५६६४ नम्बरको मोटरसाइकलमा आएका गुप्तासँग जाँच गर्दा उनले शरीर र जुत्तामा लुकाएर ल्याएको ६ लाख रुपैयाँ बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित गुप्ता र प्रयोग गरिएको मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता सिंहले जानकारी दिए ।