बारा । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन प्रवाह नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बिहीबार सार्वजनिक सूचना जारी गर्दै जीतपुरसिमरा उपमहानगरपालिका–१, २, ३, ५, ७, ८, ९, १०, २३ र २४ को दक्षिणतर्फबाट बग्ने सिर्सिया नदीलाई प्रदूषणमुक्त राख्न आग्रह गरेका हुन् ।
नेपालीहरूको महान् पर्व दीपावली तथा छठका अवसरमा सिर्सिया नदीमा घाट निर्माण गरी श्रद्धालु भक्तजनले स्नान, ध्यान तथा पूजापाठ गर्ने परम्परा रहेकाले नदीलाई स्वच्छ र पवित्र राख्नु सबैको साझा दायित्व भएको प्रशासनले जनाएको छ ।
नदी आसपासमा सञ्चालित उद्योग तथा औद्योगिक प्रतिष्ठानबाट निस्किने कुनै पनि प्रकारका प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन नदीमा निकास, विसर्जन वा प्रवाह नगर्न सूचनामार्फत आग्रह गरिएको छ ।

त्यसैगरी, नदी आसपासको क्षेत्रमा सरसफाइ कायम राख्न, फोहोर तथा ढलको उचित व्यवस्थापन गर्न र नदी प्रदूषण नियन्त्रण तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
सूचनाविपरीत नदीमा प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिएका छन् ।