चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वतीखेल बसपार्क क्षेत्रमा रहेको १९ रोपनी १० आना सार्वजनिक जग्गा फिर्ता गराएर कालभैरवको मूर्ति स्थापना गरिएको छ ।
सार्वजनिक जग्गा साविकको कित्ता नं ४७ मा रहेको यो जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरिएर विभिन्न व्यक्तिहरूमा हक हस्तान्तरण भएको तथ्य सार्वजनिक भएपछि स्थानीयवासीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
उक्त विषयमा आर्थिक वर्ष २०६०/०६१ मा थाहा पाएपछि आयोगको अनुसन्धानपश्चात् जिल्ला मालपोत कार्यालय भक्तपुरमा दर्ता खारेज गरी पुनः सार्वजनिक जग्गा कायम गरिएको थियो ।
सरकारको नाममा फिर्ता भएको उक्त जग्गामा स्थानीय सरकारको पहलमा र नागरिकको सहभागितामा ढुङ्गाबाट निर्मित विशाल कालभैरवको मूर्ति स्थापना गरिएको चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।
वडाध्यक्ष कार्कीले भने, “व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक जग्गा स्थानीयवासीकै संघर्ष र पहलमा पुनः सरकारकै नाममा फिर्ता आएको छ। अहिले हामी यसलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनामा छौँ ।”
स्थानीय सरकारले उक्त जग्गामा करिब २० लाख रुपैयाँको लागतमा अर्को मन्दिर निर्माण गर्ने, झण्डै २० लाख रुपैयाँमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने र धार्मिक गन्तव्यका रूपमा विकास गरी पर्यटक भित्र्याउने योजना अघि बढाएको वडाध्यक्ष कार्कीले बताए ।