प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि आयोजित छलफलमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको मागलाई राजनीतिक उद्देश्यप्रेरित र तथ्यहीन बताएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री रवीन्द्रप्रसाद लेखकमाथि कुनै आरोप नलागेको र कुनै छानबिन प्रक्रियामा नरहेको अवस्थामा राजीनामाको माग गर्नु संसद अवरुद्ध गर्न खोजिएको निहुँ मात्र भएको उल्लेख गरे ।
‘म प्रतिपक्षको माग राख्ने अधिकारको सम्मान गर्छु तर माग गर्दा आधार चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अख्तियारले गृहमन्त्रालयअन्तर्गतका धेरै कर्मचारीहरूमध्ये एक जनालाई बोलाएको छ, बयान लिएको पनि थाहा छैन । त्यसकै भरमा गृहमन्त्रीको राजीनामा माग्नु अतिरञ्जित प्रतिक्रिया हो ।’
ओलीले पूर्व गृहमन्त्रीको राजीनामा मागिएको बेला उनको सम्बन्धित निकायबाट छानबिन भइरहेको स्मरण गराउँदै अहिले त्यस्तो अवस्था नरहेको स्पष्ट गरे । उनले भने, ‘पोहोर गृहमन्त्रीमाथि सीआईबीले छानबिन गरिरहेको थियो, अहिले त्यस्तो केही छैन । अहिले त मानौँ ३५ किलो सुन नै ओसारिएको हो झैँ विरोध भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले विपक्षीले राखेका असम्भव मागहरू साकार गर्न नसकिने भन्दै त्यसलाई बच्चाको खेलौनाको जिदी सरहको तुलना गरे । उनले भने, ‘बच्चाले खेलौनौ हात्ती किनिदे भन्छ भने किनिदिन्छौँ, तर सक्कली हात्ती झोलामा हालिदे भन्दा सकिँदैन । विपक्षीको माग पनि त्यस्तै असम्भव छ ।’
दलभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा ल्याएर छिमेकीलाई डिस्टर्ब गर्ने काम नगर्न पनि उनले सुझाव दिए । ‘घर झगडा घरमै गर्नुपर्छ, आँगनमा आएर छिमेकीलाई असर पर्ने गरी नगर्नुहोस्,’ ओलीको भनाइ थियो ।
बजेट यथार्थपरक र सम्भव हुने गरी ल्याइएको
संसद्मा प्रस्तुत बजेटका सम्बन्धमा गरिएको प्रश्नमा प्रधानमन्त्री ओलीले यो वर्षको बजेट यथार्थपरक र सम्भव हुने हिसाबले ल्याइएको दाबी गरे । उनले अघिल्लो सरकारद्वारा आधारविहीन योजनामा बजेट छुट्याइएको स्मरण गर्दै वर्तमान सरकारले यस्तो गल्ती नगर्ने बताए ।
‘हामी पपुलिष्ट बन्न खोजेका छैनौँ, यथार्थमा आधारित भएर बजेट ल्याएका छौँ,’ उनले भने, ‘गएको वर्ष विना आधार सात हजार आयोजना थपिएको थियो, राजस्व माइनस २४ प्रतिशत हुँदा पनि ३० प्रतिशत पुर्याउने भनिएको थियो। हामी त्यस्तो गर्दैनौँ ।’
उनले वर्तमान सरकारले पूर्वाधार निर्माणमा पर्याप्त काम गरिसकेको बताउँदै अबको प्राथमिकता सामाजिक सुरक्षा, सुशासन र समावेशी विकासमा केन्द्रित हुने बताए ।
खेलले सामाजिक ऊर्जा प्रवाह गर्छ
प्रधानमन्त्री ओलीले हाफ म्याराथुनजस्ता कार्यक्रमले सामाजिक एकता र सक्रियता बढाउने उल्लेख गर्दै कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद दिएका थिए । ‘खेलकुदले मानिसलाई जोड्छ, सकारात्मक ऊर्जा दिन्छ,’ उनले भने ।