प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको डिजिटल माध्यमबाट शिलान्यास गर्ने भएका छन् । मधेश सरकारको पहिलो चरण अन्तर्गत ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माणको शिलान्यास आइतबार (जेठ १८ गते) गरिने भएको हो ।
शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको जानकारी आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको हो । कार्यक्रम जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रबाट डिजिटल प्रविधिमार्फत दिउँसो १ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने तय गरिएको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने सडकहरू तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार, सडक निर्माणका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको छ भने सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयहरूबाट ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।
मन्त्री यादवका अनुसार, ८ वटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक–एक वटा पक्की पुलको निर्माणसमेत अगाडि बढाइएको छ । सडक निर्माण गर्दा जलवायु परिवर्तनबाट पर्न सक्ने असरलाई न्यून पार्ने प्रविधिको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका निमित्त सचिव संजय कुमार साहले पहिलो चरणमा सुरू गरिएको ३२० किलोमिटरमध्ये २०० किलोमिटर सडकको निर्माण कार्य पूरा भइसकेको जानकारी दिए ।
गाउँ क्षेत्रका सडकहरूमा स्थानअनुसारको उपयुक्त प्रविधिको प्रयोग गरिनेछ भने गाउँबाहिरका सडकमा स्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने मन्त्रालयले जनाएको छ। सडकको चौडाइ ५.५ मिटरदेखि ७ मिटरसम्मको हुनेछ ।