मधेश प्रदेशमा दोस्रो चरणको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ को आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शिलान्यास गर्ने भएका छन् । जनमत पार्टी नेतृत्वको वर्तमान सरकारले पहिलो सरकारले सुरु गरेको यो योजनालाई निरन्तरता दिएको हो ।
प्रधानमन्त्री ओलीले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला स्मृति भवनबाट ल्यापटपमा बटन थिचेर प्रदेशभरका सडकहरूको एकै पटक डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
यस योजनाअन्तर्गत मधेश प्रदेशका सबै ६४ वटा निर्वाचन क्षेत्रमा एक/एकवटा कालोपत्रे सडक निर्माण गरिनेछ । सडकको टेण्डर प्रक्रिया सकिएको छ भने केही क्षेत्रमा निर्माण कार्य समेत सुरु भइसकेको छ । बहुवर्षीय योजना अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर लम्बाइको सडक निर्माण गरिनेछ ।
यो कार्यक्रम तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सुरु गरेको हो । त्यसबेला भौतिक पूर्वाधार विकास मन्त्री रहेका जितेन्द्र सोनलले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम लागू गरेका थिए ।