गजामा ६० दिनको अस्थायी युद्धविराम र २८ बन्धकको रिहाइसम्बन्धी प्रस्तावमा सहमतिका लागि हमासले चारवटा मुख्य शर्तहरू अघि सारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले अघि सारेको यो प्रस्ताव इसराइलले पहिले नै स्वीकार गरिसकेको हो ।
हमासले प्रस्तावमा सहमतिका लागि कम्तीमा चार शर्त राखेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएको छ । पहिलो, प्रस्तावमा उल्लेख गरिएअनुसार २८ जना बन्धकमध्ये १० जना जिवित र १८ जना मृतकको शव हस्तान्तरण गरिनुपर्ने; दोस्रो, बन्धकहरूको रिहाइ तीन चरणमा सम्पन्न गरिनुपर्ने; तेस्रो, गजाबाट इसराइली सेना पूर्ण रूपमा हट्नुपर्ने र चौथो, युद्धको पूर्ण अन्त्य सुनिश्चित हुनुका साथै मानवीय सहायता वितरण गजाका सबै भागहरूमा हुनुपर्ने माग गरिएको छ ।
हमासका वरिष्ठ नेता बसिम नइमले युद्धविराम सकारात्मक कदम भएको बताए पनि मध्यपूर्व दूत विटकोफले इसराइलको पक्षपात गरेको आरोप लगाए। हमासको भनाइअनुसार, शर्तहरू इसराइली पक्षले स्वीकार गरेमा मात्र युद्धविराममा सहमति जनाउनेछ ।
यसैबीच, इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यदि हमासले युद्धविराम प्रस्ताव अस्वीकार गरेमा गजामा सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन् । "इसराइलले आफ्ना बन्धकहरू फिर्ता ल्याउने र हमासलाई अन्त्य गर्ने अभियान जारी राख्छ," नेतन्याहूले बताएका छन् ।
अमेरिकी दूत विटकोफले भने हमासको शर्त अस्वीकार्य रहेको स्पष्ट पारेका छन् । "यो प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य छ। यसले शान्तिप्रक्रियालाई पछाडि धकेल्छ," उनले भने, "वार्ताअनुसारको प्रस्ताव स्वीकार गरिनुपर्छ र आगामी साताबाट युद्धविराम कार्यान्वयनमा जानुपर्छ ।"
संयुक्त राष्ट्रसंघले गजाका नागरिकहरू हालसम्मकै सबैभन्दा खराब मानवीय अवस्थामा रहेको जनाएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार, ८० दिनदेखि जारी नाकाबन्दीका कारण गजामा भोकमरी फैलिएको छ । मानवीय सहायता लिएर गएका ट्रकहरू कतिपय अवस्थामा हमासका लडाकूहरूले बन्दुक देखाएर अपहरण गर्ने र केही ट्रकहरू स्थानीय भोकले पिरोलिएका नागरिकहरूले लुट्ने गरेको रोयटर्स ले उल्लेख गरेको छ ।
विश्व खाद्य कार्यक्रमको विज्ञप्तिमा भनिएको छ, "८० दिनदेखिको नाकाबन्दीका कारण भोकमरी लागेको छ । यस्तो अवस्थामा नागरिकहरूले आफ्नै अगाडिबाट खाद्यान्न गइरहेको हेर्न सक्दैनन् ।"