पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा गत आइतबार घरमा भएको चोरी र एक महिलाको हत्यामा संलग्न तीन जना युवक पक्राउ परेका छन् ।
धोबनीका श्रीनिवास साह तुराहाको घरमा गत आइतबारराति नगद रकम र गरगहना चोरीहुनुका साथै उनकी पत्नि ६२ वर्षीया लखरजिया देवीको हत्यापनि भएको थियो ।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धोबिनी गाउँपालिका–५ धोबिनीकै १८ वर्षीय चन्दन कुमार पटेल,१८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवानलाई पक्राउ गरेको हो ।
गत आइतबार राति दुई तल्ले पक्की घरको दोस्रो तल्लाको कोठामा लखरजिया देवी र पहिलो तल्लाको कोठामा श्रीनिवास सुतेका थिए । सोमबार बिहान लखजरिया देवी सुतेकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् भने उनि सुतेको कोठाभित्र रहेको दराज र बाक्सा फोडेर नगद रकम र गरगहना चोरी भएको थियो ।
उक्त घटनाको अनुसन्धानमा जुटेको प्रहरीका अनुसार, असोज ४ गते आइतबारराति ११ बजे पटेल, बैठा र पासवान तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी मृतकको घरमा चोरी गर्ने योजना बनाएका थिए । त्यसपछि उनिहरु तीनै जना मृतक लखरजिया देवीको पक्की घरको पछाडिको पर्खालबाट घरमाथि चढेर माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए । घरभित्र छिरेका उनिहरुले स्टिलको दराज तोडेर दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरी अन्य कोठामा रहेको टिनको बक्साको ताल्चा फुटाइरहेको अवस्थामा तल्लो तल्लामा सुतिरहेकी लखरजिया देवी ब्युँझिएकी थिइन् । त्यसपछि तोडफोडको आवाज सुनेर माथिल्लो तलामा गएकी लखरजिया देवीलाई देखेपछि पटेल, बैठा र पासवानले फलामको धारिलो वस्तुले प्रहार गरेर उनको हत्या गरी गरगहना र नगद रकम लिएर फरार भएका थिए ।
घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले पटेललाई शुक्रबार वीरगन्जबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनिहरुको साथबाट घरबाट चोरी भएको रकम र सुनको गहनाका साथै गाडीको स्प्रिङ पत्ता १ थान, पिलास १ थान र चक्कु थान बरामद गरिएको मल्लले जानकारी दिए ।
पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध पर्सा जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यान कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।