प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको महत्वाकांक्षी ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत एकैपटक ती योजनाहरूको शिलान्यास गरेका हुन् । शिलान्यास भएका सबै आयोजना प्रादेशिक निर्वाचन क्षेत्रका आधारमा तय गरिएका हुन् । योजनाअनुसार मधेस प्रदेशका आठ जिल्लामा ६४ निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइका पक्की सडक निर्माण गरिनेछ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे सडक निर्माणका लागि कुल लागत १२ अर्ब ७० करोड रुपैयाँ हुनेछ । सडकको चौडाइ साढे पाँचदेखि सात मिटर सम्म रहनेछ । साथै, प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा पक्की पुल निर्माणको प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि प्रयोग गरिने बताइएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भइसकेको र ठेक्का प्रक्रिया पनि पूरा भएकाले अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने बताए । उनले यसअघि प्रारम्भ गरिएका ३२० किलोमिटर सडकमध्ये २०० किलोमिटरभन्दा बढी निर्माण भइसकेको जानकारी दिए ।
मन्त्री यादवका अनुसार, यी योजनाले मधेसका दुर्गम गाउँहरूलाई यातायात सञ्जालमा जोड्ने, स्थानीय उत्पादनलाई बजारमा पुर्याउने र व्यापार–व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ ।