बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आइतबार साँझ इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख डिएसपी शुभद्रा वाइवाले अशोभनीय व्यवहार प्रदर्शन गरेकी छन् ।
डिजेलको कुपन पर्याप्त नपाएको भन्दै उनले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईको कार्यकक्षमै गएर आक्रोशपूर्ण व्यवहार देखाएकी हुन् । डिएसपी वाइवाले उपमहानगरपालिका कार्यालयमा पठाएको जवानमार्फत १०० लिटर डिजेल माग गरेकी थिइन् । तर, कार्यालयले २० लिटर डिजेल र १० लिटर पेट्रोलको मात्र कुपन दिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । त्यसपछि साँझ ५:१५ बजे आफैं उपमहानगर पुगेर कार्यालय समय सकिन लागेकाे अवस्थामा प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेकी थिइन् ।
घटनाका प्रत्यक्षदर्शी अनुसार सहसचिव प्रसाई कार्यालयबाट बाहिर निस्कन लागिरहेका बेला डिएसपी वाइवा पुगेकी थिइन् । उनलाई बस्न आग्रह गरिए पनि उनले कुपनको विषयमा प्रहरीलाई हेपिएको आरोप लगाउँदै आक्रोशपुर्ण व्यवहार देखाइन् । उनले दिउँसो जवानमार्फत ल्याएको कुपन च्यातेर टेबल मै फ्याँकि दिइन् ।
डिएसपी वाइवाले आफैंले कुपन च्यातेको पुष्टि गर्दै, “विगतमा १०० लिटर डिजेल पाइन्थ्यो, अहिले घटाएर दिएकोले चित्त बुझेन, त्यसैले कुपन त्यहीँ च्यातिदिएको हुँ । फोटो चाँही खिचेर राखेको छु ।”
डिएसपी वाइवाको यस्तै प्रकारका घटना यसअघि पनि विवादमा आइसकेको छ । केही दिनअघि मात्र उनले जीतपुरमा जारी एक सांस्कृतिक महोत्सवको स्टेजमा चढेर माइकको तार चुँडाएकी थिइन् । त्यस्तै, सिमरा विमानस्थलमा सर्वसाधारणलाई अनाहकमा हतकडी लगाएको घटनाले पनि उनी आलोचित भएकी थिइन् ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घटनाको मौखिक जानकारी प्राप्त भएको जनाउँदै भने, “लिखित जानकारी आएपछि छानबिन प्रक्रिया अघि बढाइने बताए । डिएसपीको व्यवहार अनुशासनहीन देखिएको छ, कारवाही प्रक्रिया अगाडि बढ्छ ।”
स्थानीय प्रशासन र सुरक्षाकर्मीबीचको समन्वय आवश्यक हुने भएपनी यस्तो अशाेभनिय व्यवहारले राज्य संयन्त्रको मर्यादामाथि प्रश्न उठाएको छ ।