रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा गाउँमा एक नवविवाहित महिलाको हत्या भएको छ । मृतक आलका यादवको माइती पक्षले दाइजो नपाएको निहुँमा श्रीमान अंकेश यादवसहित उनका परिवारले मिलेर हत्या गरेको आरोप लगाएका छन् ।
फतुवा विजयपुर नगरपालिका–९, बडहर्वा माइती घर भएकी आलकाको शव मंगलबार राति घरमै घाँटी थिचिएको अवस्थामा फेला परेको थियो । माइती पक्षका अनुसार आलकालाई पटक–पटक मानसिक र शारीरिक यातना दिइएको थियो । “दाइजो नदिएको निहुँमा मेरी छोरीलाई सताइयो, अन्ततः उनीहरूकै हातबाट हत्या गरियो,” पीडित आमाले भनिन् ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट पुगेको टोलीले आलकाका ससुरा पुकार राय यादवलाई नियन्त्रणमा लिएको छ । तर, श्रीमान अंकेश यादव भने फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृतक आलकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रामकुमार महतोले जानकारी दिएका छन् ।