सर्लाहीस्थित बागमती नगरपालिका–११ मा पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–१, पौराही टोलका २१ वर्षीय गोपाल योन्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोजकुमार राईका अनुसार गएराति १० बजे चन्द्रपुरबाट हरिवनतर्फ गइरहेको कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनरले ठक्कर दिएको प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकलमा सवार गोपाल योन्जनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
घाइते अवस्थामा मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लैजाँदै गर्दा राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनामा संलग्न कन्टेनर, मोटरसाइकल र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका–५ निवासी ३८ वर्षीय ओमबहादुर लामालाई नियन्त्रणमा लिइएको छ ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि चालकसहित सवारी साधन इलाका प्रहरी कार्यालय हरिवन पठाइएको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री