मधेस प्रदेश सरकारले वीरगन्जस्थित नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सो रंगशालालाई रामजानकी बहुउद्देश्यीय रंगशालासँगै खेलग्रामको संरचना निर्माणसहित प्राथमिकतामा राखिएको छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले मधेस प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुँदा नं. ८.१९ मा भनिएको छ ।
“खेल क्षेत्रलाई व्यवस्थित र गतिशील बनाउन रामजानकी बहुउद्देश्यीय रंगशाला र नारायणी रंगशालालगायतका रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गरी खेलग्राम संरचनाहरूको निर्माणलाई प्राथमिकतामा राखी सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनमा ल्याइनेछ ।”
यस घोषणाले वीरगन्जको खेल पूर्वाधार विकासको सम्भावना थप बलियो बनेको छ । नारायणी रंगशाला अहिलेको अवस्थामा जीर्ण भइसकेको छ र आवश्यक मर्मत तथा आधुनिकीकरणका कामहरू वर्षौंदेखि अलमलमा छन् ।
यसअघि संघीय सरकारले पनि जेठ १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नारायणी रंगशालाको मर्मत तथा जीर्णोद्धारका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । संघीय र प्रदेश दुवै सरकारले यो रंगशालालाई प्राथमिकतामा राख्नु वीरगन्जका खेलकुद क्षेत्रका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ ।
स्थानीय खेलकर्मीहरूका अनुसार पर्याप्त पूर्वाधारको अभावका कारण वीरगन्जको खेल प्रतिभा राष्ट्रियस्तरमा पुग्न नसकेको गुनासो रहँदै आएको छ । अब प्रदेश र संघीय सरकारको समन्वयमा नारायणी रंगशालाको स्तरवृद्धि भयो भने वीरगन्जमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।