मधेश प्रदेश सांसद प्रमोद यादवले सरकारको नीति तथा कार्यक्रममा ‘कति घुस दिनुपर्छ’ भनेर स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेका छन् ।
मधेश प्रदेश सभाको पाँचौँ अधिवेशनको छैठौँ बैठकमा सांसद प्रमोद कुमार यादवले बाेल्दै कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिमा भइरहेको व्यापक भ्रष्टाचारप्रति तीव्र आलोचना गर्दै सरकारको नीति तथा कार्यक्रममा ‘कति घुस दिनुपर्छ’ भनेर स्पष्ट उल्लेख गर्नुपर्ने माग गरेका हुन् । संसद बैठकमा बोल्दै यादवले सरकारलाई व्यंग्य गर्दै भने, “योजना पास गराउँदा, कर्मचारीको सरुवा–बढुवा गराउँदा, नियुक्ति लिँदा खुलमखुला घुस दिनुपर्ने अवस्था छ ।
त्यसैले नीति तथा कार्यक्रममा खुलेर समेटियाेस्, कति दिनुपर्छ।” सांसद यादवले शिक्षा, स्वास्थ्य, सडकजस्ता महत्वपूर्ण क्षेत्रलाई नारामुखी कार्यक्रममार्फत ‘सस्तो लोकप्रियताको हतियार’ बनाउने प्रयास भएको आरोप लगाए । “यी क्षेत्रका विकासका कुरा भाषणमा मात्रै छन् । कार्यान्वयनमा भ्रष्टाचारकै चलखेल चल्छ,” उनले भने । उनले सरकारको नारा भ्रष्टाचारमुक्त भए पनि व्यवहारमा भ्रष्टाचारयुक्त अभ्यास हावी भएको टिप्पणी गरे । “सरकारले भ्रष्टाचार हटाउने होइन, संस्थागत गर्ने काम गरिरहेको,” यादवले आरोप लगाए ।
उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पटक–पटक सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र राजनीतिक हस्तक्षेपको अन्त्यको माग उठाउँदै आएका छन् ।