देशको मौसममा हाल विभिन्न प्रकारका वायु प्रणालीको प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिम तथा मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । मौसम पूर्वानुमान अनुसार देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना रहेको छ ।
आज रातिसमेत मौसम यस्तै रहनेछ । विभागका अनुसार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायम नै रहेको छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण पहिरो, बाढी तथा चिसोबाट सतर्क रहनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ ।