भारतबाट फर्किएकामा कोरोना संक्रमण देखिन थालेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा भारतबाट आएका १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएका व्यक्तिहरूमा दिनहुँ संक्रमण देखिन थालेको छ । यद्यपि, नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त परीक्षण कीट नहुँदा संक्रमणको वास्तविक स्थिति पत्ता लगाउन कठिन भइरहेको छ । निर्देशनालयका अनुसार मंगलबार मात्रै भारतबाट फर्किएका दुई जनामा संक्रमण पुष्टि भएको छ । गौरीफन्टा र झुलाघाट नाकाबाट आएका एक–एक जनामा संक्रमण देखिएको हो । पछिल्लो सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल प्रवेश गरेका थिए । तीमध्ये १४ जनाको मात्र परीक्षण गरिएको थियो ।
भारतको दिल्लीबाट घर फर्किएका अधिकांश व्यक्तिमा त्रिनगर नाकामा संक्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार यसले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च बनाएको छ ।
हाल सुदूरपश्चिममा ३७० मात्र परीक्षण कीट उपलब्ध रहेको निर्देशनालयले जनाएको छ । केही दिनअघि विभागबाट पठाइएका २०० कीटपछि यो संख्या पुगेको हो । कञ्चनपुरको गड्डाचौकी नाकामा मंगलबार १०० कीट पुगेपछि परीक्षण सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीका अनुसार अहिले लक्षण देखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ । “हामीसँग १०० कीट मात्रै आएको छ, यो पर्याप्त होइन,” उनले भने, “नाकामा लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गरिरहेका छौँ ।”
स्वास्थ्यकर्मीहरू भारतबाट फर्किएकाको स्वास्थ्य अवस्था, लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गी लगायतका परीक्षण र परामर्श दिइरहेका छन् । गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले परीक्षण कीट अभावले शंकास्पद व्यक्तिहरूलाई एक हप्तासम्म परिवारबाट टाढा बस्न सुझाव दिइएको बताए ।
स्थानीयवासीहरूका अनुसार विगतका वर्षमा नाकामा कडाइ गर्न नसक्दा संक्रमण फैलिएको थियो । स्थानीय पदम थापाले गड्डाचौकी नाकाबाट नेपाल भित्रिने अधिकांश जीप, कार र बसहरू बिना परीक्षण नेपाल प्रवेश गर्ने गरेको बताए । उनले हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न प्रशासनलाई आग्रह गरे ।
कोरोना महामारीपछि सुदूरपश्चिमका प्रमुख नाकाहरू – कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन् । तर परीक्षण सामग्रीको अभावले ती हेल्थ डेस्कको प्रभावकारिता घटेको देखिन्छ ।