सिमरास्थित विशेष आर्थिक क्षेत्रमा १३२ केभी क्षमताको सबस्टेशन निर्माणका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरणबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रमा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक छत्र कटुवाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका हुन् । दरबारमार्गस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता सम्पन्न भएको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सिमरा सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गर्दै विद्युत सेवा विस्तार गर्ने उद्देश्यले यो सम्झौता गरिएको हो। उनले बताए अनुसार उद्योग मन्त्रालयबाट बहुवर्षीय परियोजना स्वीकृत भइसकेपछि टेन्डर प्रक्रिया अगाडि बढाइनेछ र त्यसपछि सबस्टेशन निर्माण कार्य अघि बढ्नेछ ।
प्रवक्ता ढकालले सबस्टेशनमार्फत सेजमा स्थापना हुने उद्योगहरूलाई आवश्यक विद्युत आपूर्ति सुनिश्चित गरिने जानकारी दिए। उनले उद्योगहरूको प्रकार र मागको आधारमा पावर सप्लाईको मात्रा तय गरिने समेत स्पष्ट पारे ।
यस परियोजनाले सिमरा विशेष आर्थिक क्षेत्रको पूर्वाधार सुदृढ गरी लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।