रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बिहीबार बिहान ६ बजेदेखि अवरुद्ध पारेका छन् ।
पहिचान नखुलेको गाडीको ठक्करबाट ३५ वर्षीय बुद्ध लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । उनको शव बिहान पाँच बजेतिर सडकमै फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए । मृतकका परिवार र स्थानीयवासीले ठक्कर दिने गाडीको पहिचान गरी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि त्यस क्षेत्रमा सयौँ सवारी साधन रोकिएका छन् भने हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । साना गाडीहरू वैकल्पिक मार्ग प्रयोग गरेर गन्तव्यतर्फ लागेका छन् तर ठूला बस र मालबाहक सवारी घटनास्थलमै रोकिएका छन् ।
डीएसपी रायका अनुसार ठक्कर दिने गाडीको पहिचान अझै हुन सकेको छैन । “हामी गाडीको पहिचानको प्रयासमा छौं,” उनले नेपालखबरसँग भने, “तर अहिलेसम्म सफलता मिलेको छैन ।”
घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र राजमार्ग खुलाउन स्थानीयसँग संवाद भइरहेकाे प्रहरीले जनाएको छ ।