पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि मोसो छ्यापेका छन् ।
उक्त घटना न्यायाधीश थारुको इजलासमा मुद्दाको सुनुवाइ भइरहेका बेला भएको हो । कार्यकर्ताहरू अदालत कक्षमै प्रवेश गरी न्यायाधीशमाथि कालो मोसो छ्यापेका थिए। उक्त घटनाको भिडियो सार्वजनिक भइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न दुई जना नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ गरिएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सफाइको फैसलापछि लगातार आलोचना भइरहेका बेला अदालत परिसरभित्रै भएको यस्तो घटना न्यायपालिकामाथिको आक्रमणको रूपमा लिइएको छ । कानूनी वृत्तमा समेत यसप्रति गम्भीर चासो व्यक्त गरिएको छ ।