पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र मानव शरीरका विभिन्न अंगहरू र कपडा फेला परेका छन् ।
पर्सागढी नगरपालिका–१ मा पर्ने भालु खोला फारलाइन छेउको खाल्डोमा अज्ञात व्यक्तिको शंकास्पद अवस्था रहेका अंगहरू भेटिएका हुन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार जंगली जनावरका लागि बनाइएको पानी पिउने खाल्डोमा एउटा खुट्टा र दुईवटा हात फेला परेको हो । सोही स्थानबाट करिब ३०० मिटर टाढा एउटा टाउकोको अस्थिपञ्जर समेत फेला परेको छ ।
मानव शरीरका अंगसँगै घटनास्थलमा पुरुषले लगाउने निलो रंगको पाइन्ट र सेतो फुलबाहुला सर्टसमेत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै खटिएको प्रहरी टोलीले फेला परेका अंग, अस्थिपञ्जर र कपडाहरू नियन्त्रणमा लिई आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी नारायणी अस्पताल, वीरगन्जको शवगृहमा पठाएको छ । हालसम्म मृतकको पहिचान हुन सकेको छैन ।
मृतकलाई चिनेको वा घटनासम्बन्धी कुनै जानकारी भएको व्यक्तिले नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
भिडियाे सामाग्री