नेकपा (एमाले) वीरगंज महानगर कमिटीका सल्लाहकार पुर्व मेयर विजय सरावगीको बढ्दो हस्तक्षेपप्रति नेताकार्यकर्ताहरू बीच असन्तुष्टि चुलिएको छ ।
पार्टी संरचना, विचारधारा र लोकतान्त्रिक मूल्य–मान्यता छायाँमा पार्दै सरावगीको निर्देशनमा निर्णयहरू हुन थालेपछि कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् । हालै सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नवराज शर्मा नेतृत्वको कमिटीको कार्यलय समेत सरावगीकै निवासमा रहेको खुलासा स्वयं अध्यक्ष शर्माले गरेका छन् । पार्टी बैठक तथा निर्णय प्रक्रियासमेत होटलहरूमा गरिन थालिएको भन्दै कार्यकर्ताहरू असहज बन्दै गएका छन् ।
वीरगंज महानगर कमिटीकाे बैठक पुर्व मेयर विजय सरावगीको निवासमा बसेकाे बैठक ।
बैठक पार्टी प्यालेस र सरावगी निवासमा
शनिबार “रोयल पार्टी प्यालेस” मा बोलाइएको बैठक न त पूर्वसूचना थियो, न एजेन्डा, न पारदर्शिता । कार्यक्रममा सहभागी एक वडा सदस्यका अनुसार निर्णय प्रक्रिया सरावगीकै सल्लाहमा हुन्छ, जसले पार्टीको अनुशासन र पद्धतिमा ठूलो आँच पुगेको छ ।बैठकका क्रममा अध्यक्ष शर्माले “एमाले भनेकै सरावगी हो” भन्ने अभिव्यक्तिले थप विवाद निम्त्याएको छ । धेरै सदस्यहरूले अध्यक्षले बाेलेकाे विषय पार्टी विचार र सिद्धान्तको अपमानका रूपमा लिएकाे वडा सदस्यले बताए ।
वीरगंज महानगर कमिटीकाे बैठक पदम पार्टी सेन्टरमा बसेकाे बैठक ।
सुन्दर कुर्मीको कटाक्ष: “सरावगी प्रा.लि.मा घोडा अध्यक्ष”
अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका सुन्दर कुर्मीले फेसबुकमा लेखेका छन्, “सिद्धान्त गयो, स्वार्थ आयो । अब पार्टी होइन, सरावगी प्रा.लि. हो । घोडा अध्यक्षहरू अगाडि पछाडि लागेका छन् । सिद्धान्तवादी नेता हराएका छन्, टिकट बाँड्न तल्लीन नेताहरू अगाडि छन् ।”

यसैगरी महानगर कमिटी सदस्य विकास रौनियारले सामाजिक सञ्जालमार्फत सरावगीको हस्तक्षेपपूर्ण भूमिकाको सांकेतिक रूपमा विरोध गर्दै आफू आजैदेखि एमाले महानगरको कमिटीबाट हटेको र अब साधारण सदस्यको भूमिका मै सीमित रहने घोषणा गरेका छन् । पार्टीभित्र निर्णय प्रक्रिया व्यक्तिको नियन्त्रणमा जाँदा स्थानीय कार्यकर्ताहरूमा आक्रोश बढेको छ ।
केहीले यसको समाधान नखोजिए नगर कमिटि सरावगि प्रालिमा विलय हुने बताएका छन् ।
भिडियाे सामाग्री