बागमती प्रदेश सरकारले चितवनलाई प्रदेशको पर्यटन हबका रूपमा विकास गर्न बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चितवनलाई पर्यटनको राजधानी बनाउने योजनासहित आवश्यक बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन् । बजेट वक्तव्यमा मन्त्री काफ्लेले प्रदेशमा रहेका पर्यटकीय, धार्मिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवर्द्धन गरेर बागमती प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताएका छन् । उक्त योजनाअन्तर्गत चितवनलाई पर्यटनको हबका रूपमा विकास गर्न प्राथमिकता दिइएको छ ।
यसअघि जिल्ला समन्वय समिति चितवनको संयोजनमा जिल्लाका स्थानीय तह र पर्यटन व्यवसायीहरूसँगको छलफलपछि चितवनलाई बागमती प्रदेशको पर्यटन राजधानी बनाउने सिफारिस गरिएको थियो । समिति प्रमुख नारायणप्रसाद अधिकारीको नेतृत्वमा उक्त सिफारिस प्रदेश सरकारसमक्ष प्रस्तुत गरिएको थियो ।
"जिल्लाबाट गरिएको सिफारिस नीति तथा कार्यक्रम र बजेटमा समावेश हुनु सकारात्मक संकेत हो," प्रमुख अधिकारीले भने, "यसले चितवनलाई समग्र देशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनाउन सघाउने विश्वास गरिएको छ ।"
बागमती प्रदेश सरकारले संस्कृति तथा पर्यटन मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस अन्तर्गत दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्न, ७ हजार मिटरभन्दा कम उचाइका अपरिचित हिमशृंखलाहरूको अन्वेषण तथा आरोहण प्रवर्द्धन गर्न र ट्रेकिङ पिकका रूपमा विकास गर्न बजेट छुट्याइएको छ ।
साथै, मकवानपुरगढीदेखि सिन्धुलीगढी, कालिगण्डकीदेखि कालिञ्चोक, गौरीघाटदेखि गोसाइकुण्ड र रानीपोखरीदेखि पाँचपोखरीसम्मका ऐतिहासिक एवं धार्मिक महत्वका पदमार्गहरू पहिचान तथा विकास गरी ती क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक पर्यटन गन्तव्यको रूपमा विस्तार गर्ने योजना बजेटमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले विपद् पर्यटनको सम्भाव्यता अध्ययनका लागि पनि बजेट विनियोजन गरेको छ ।
"प्राकृतिक प्रकोपले मात्र क्षति होइन, पर्यटन सम्भावना पनि सिर्जना गर्न सक्छ भन्ने अवधारणालाई अघि बढाइएको छ," मन्त्री काफ्लेले भने ।
त्यस्तै हेलम्बु ग्रेट ट्रेल (सिन्धुपाल्चोक), किस्पाङ–नौघडरी (नुवाकोट) र शैलुङ मिनी ग्रेटवाल (दोलखा) क्षेत्रमा आकर्षक पार्क निर्माण गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
साथै प्याराग्लाइडिङका लागि उपयुक्त स्थानको सम्भाव्यता अध्ययन र एडभेन्चर टुरिजम फेस्टिभलको आयोजना पनि आगामी वर्षमा हुने भएको छ ।
प्रदेश सरकारले बागमती प्रदेश सरकार र भरतपुर महानगरको सहकार्यमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै संघीय सरकारसँगको सहकार्यमा गोदावरी (ललितपुर) मा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि पनि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मकवानपुरको गौरिटार र दोलखाको भिमेश्वर बहुउद्देश्यीय रंगशाला निर्माण कार्य पनि आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।