महोत्तरी । दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्रका उखु किसानलाई सख्खर (मिठ्ठा) बनाउन भ्याइनभ्याइ भएको छ । पर्वका लागि आवश्यक मिठाई तथा परम्परागत परिकार बनाउन सख्खरको माग बढेपछि किसानहरू अहिले उखु पेल्ने र सख्खर पकाउने काममा व्यस्त भएका छन् ।
मिथिला क्षेत्रमा दीपावली र छठ पर्वमा सख्खरबाट तयार गरिने विभिन्न परिकार बनाउने परम्परा छ । दीपावलीमा बनाइने सेल र छठमा चढाइने ठकुवालगायतका परिकारमा सख्खरको प्रयोग हुने भएकाले यस समयमा यसको माग बढ्ने गरेको किसानहरू बताउँछन् ।
मिथिलाको खेतीकिसानी परम्परामा कात्तिक महिनालाई ‘तेह्रौँ मास’ भन्ने गरिन्छ । आम्दानीका स्रोत कम र खर्च बढी हुने भएकाले किसानका लागि यो महिना आर्थिक रूपमा चुनौतीपूर्ण मानिन्छ ।
भङ्गाहा नगरपालिका–४ रामनगरका ६० वर्षीय किसान गङ्गाराम महतोका अनुसार धान भित्र्याउन बाँकी रहने र उखु, गहुँ तथा अन्य चैतीबाली लगाउने तयारी गर्नुपर्ने समय भएकाले कात्तिकमा किसानलाई नगदको अभाव हुने गर्छ ।
“यसबेला धान भित्रिसकेको हुँदैन, उखु, गहुँ र अरू चैतीबाली लगाउने तयारी पनि गर्नुपर्छ । मुख्य चाडपर्व पनि यही बेला पर्छन्,” महतो भन्नुहुन्छ, “त्यसैले केही आम्दानी गरेर चाडपर्वको खर्च जुटाउन किसानले उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।”
बर्दिबास नगरपालिका–७ प्रेमनगरका किसान रामअवतार महतो पनि अहिले उखु पेल्न व्यस्त हुनुहुन्छ । उहाँका अनुसार दीपावली र छठका कारण नयाँ सख्खरको माग उच्च रहेको छ । उपभोक्ताले पुरानोभन्दा भर्खरै तयार गरिएको सख्खर बढी रुचाउने भएकाले पनि यस समयमा राम्रो मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले अहिले राम्रो रङ र दानादार गुणस्तरको सख्खर प्रतिकिलो १४० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिनुभयो । उपभोक्ताहरू घरमै आएर सख्खर खरिद गर्ने गरेको उहाँको भनाइ छ ।
महोत्तरीको भङ्गाहा, बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका विभिन्न बस्तीमा सघन रूपमा उखुखेती हुने गरेको छ । जिल्लाका चिनी उद्योग भने मङ्सिरको अन्त्यतिर मात्र सञ्चालनमा आउने भएकाले किसानले कात्तिकमै उखु पेलेर नगद आम्दानी गर्ने गरेका छन् ।
बर्दिबास नगरपालिका–१२ का किसान विश्वनाथ सिंहका अनुसार कात्तिकमा खेतीपातीको खर्च जुटाउन र चाडपर्व मनाउन किसानले उखुबाट तत्काल आम्दानी खोज्ने गरेका छन् ।
“कात्तिक हामी किसानलाई खर्चको अभाव हुने बेला हो । यही समयमा दीपावली र छठजस्ता महत्त्वपूर्ण पर्व पर्छन्,” सिंह भन्नुहुन्छ, “खेतीपातीको खर्च जुटाउन र चाडपर्व मनाउन किसान अहिले उखु पेल्न थालेका हुन् ।”
उखु र गहुँ खेतीका लागि खनजोत, बीउ तथा मलखादको व्यवस्था गर्नुपर्ने भएकाले किसानलाई अहिले नगद आवश्यक पर्ने गरेको छ । दीपावलीअघिदेखि उखु पेल्न थालेका किसान छठ पर्वसम्मै सख्खर उत्पादनमा व्यस्त रहनेछन् ।
बर्दिबास नगरपालिका–६ फूलबारीटोलका किसान रामचन्द्र महतोका अनुसार दीपावली र छठका लागि नयाँ सख्खरको माग उच्च हुने भएकाले यस समयमा उखु पेल्दा राम्रो बजार मूल्य पाउने सम्भावना रहन्छ ।
पछिल्लो समय स्वास्थ्यप्रति सचेत उपभोक्ताले गुलियोका लागि चिनीको सट्टा सख्खर रोज्न थालेपछि यसको माग थप बढेको किसानहरूको अनुभव छ । दीपावलीको सेल र छठको ठकुवालगायतका परम्परागत परिकारमा सख्खरको प्रयोग हुने भएकाले पनि यसको बिक्री बढ्ने गरेको छ ।
एकपटक रोपिएको उखुबाट दुई वर्षसम्म उत्पादन लिन सकिन्छ । पहिलो वर्षको उखुलाई ‘मुडन’ र दोस्रो वर्षको उखुलाई ‘खुट्टी’ भनिन्छ । अहिले किसानहरूले दोस्रो वर्षको उखु अर्थात् खुट्टी पेलेर सख्खर बनाइरहेका छन् ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार मुडन उखुमा पुस नलागेसम्म पर्याप्त रस नपस्ने भएकाले अहिले खुट्टी उखु पेल्ने गरिएको हो ।
यता, मधेस प्रदेशका केही जिल्लामा चिनी उद्योगले उखु क्रसिङ सुरु गरिसके पनि महोत्तरीमा भने अझै सुरु भएको छैन । प्रत्येक वर्षजसो उखुको मूल्य निर्धारणमा ढिलाइ हुँदा किसान समस्यामा पर्ने गरेको अध्यक्ष कुशवाहाको भनाइ छ ।
उहाँका अनुसार कात्तिक मसान्तभित्रै सरकार, चिनी उद्योग सञ्चालक र उखु उत्पादक किसानबीच सहमति गरेर उखुको मूल्य निर्धारण गरिनुपर्ने भए पनि यस विषयमा अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।
चाडपर्वको मागले सख्खर उत्पादनबाट तत्काल आम्दानी गर्ने अवसर पाए पनि उखुको उचित मूल्य निर्धारण र चिनी उद्योग समयमै सञ्चालन नहुँदा किसानको दीर्घकालीन समस्या भने कायमै रहेको छ ।