नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विशेष तयारी गरेको छ ।
उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन तथा आपूर्ति व्यवस्थापनका विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठकसमेत बसेको छ । बैठकमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल गरिएको थियो ।
त्यसैगरी, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी तथा आवश्यक जनशक्ति परिचालनबारे छलफल र समन्वय गरिएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिएका हुन् ।
त्यस्तै, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गरी सम्भावित अवरोध न्यूनीकरण गर्न पनि निर्देशन दिइएको छ । विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित कार्यालयलाई भनिएको छ ।
लक्ष्मीपूजामा १ हजार ७ सय मेगावाट विद्युत् माग हुने अनुमान
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । उक्त माग पूरा गर्न आन्तरिक विद्युत् उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।
उनका अनुसार सो अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । अनुमानित मागभन्दा उत्पादन बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने प्राधिकरणको अपेक्षा छ ।
पर्व अवधिभर विद्युत्को माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरिनेछ। त्यसका लागि एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ ।
विद्युत् सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह
यसैबीच, प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा विद्युत् सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारहरूको अवस्था जाँच गर्न, गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न र विद्युत् चुहावट वा तारमा समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भएमा नजिकको वितरण केन्द्र वा सम्बन्धित ‘नो लाइट’ सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।