कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको प्राङ्गणमा मंगलबार सम्पन्न एघारौं नगरसभा तथा बजेट अधिवेशनमा नगरप्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । प्रमुख जयसवालद्वारा प्रस्तुत बजेटले नगरको समग्र विकास, पूर्वाधार सुदृढीकरण, सेवा प्रवाह विस्तार तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
बजेट विवरण अनुसार कुल आयमध्ये ४ करोड रुपैयाँ आन्तरिक आम्दानीबाट प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९७२ रुपैयाँ र राजस्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३७१ रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७५ लाख ६५ हजार, राजस्व बाँडफाँटबाट ६१ लाख ७४ हजार ८९० र स्थानीय सरकार राजस्व बाँडफाँटबाट ७ करोड २८ हजार २ सय ४२ रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुख जयसवालले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, स्वच्छ खानेपानी, वातावरण संरक्षण, सामाजिक समावेशिता तथा रोजगार सिर्जना जस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जानकारी गराए ।
“नगरको दिगो विकास सुनिश्चित गर्न बजेटको वितरणमा विशेष ध्यान दिइएको छ,” नगरप्रमुख जयसवालले भने, “आगामी वर्ष नगरवासीलाई प्रत्यक्ष लाभ पुर्याउने योजनाहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता लिएका छौं ।”
नगरसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।