सर्लाही प्रहरीले साढे ४२ लाख रुपैयाँ बराबरको भन्सार छली गरिएका विभिन्न सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रकलाई बुधबार बिहान विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय करमैयाबाट खटिएको टोलीले जाँच गर्दा भन्सार छलीका सामान फेला परेका हुन् ।
सर्लाही प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहका अनुसार ट्रकमा लोड गरिएका सामग्रीका प्रमाणित कागजातहरू प्रस्तुत गर्न चालक असफल भएको र देखाइएको कागजातहरू पनि शंकास्पद पाइएपछि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा ट्रकमा टायर, मोबिल, आँपमा छर्ने औषधी, इलेक्ट्रोनिक सामग्री, रेगुलेटर, मोटरपार्ट्स, किसमिस, छाता, कस्मेटिक्सलगायतका सामान अवैध रूपमा ओसारपसार गरिएको पाइएको छ ।
हाल उक्त ट्रकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ। सर्लाही प्रहरीले भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि निगरानी कडा बनाइएको पनि जनाएको छ ।