सिरहाको गोलबजार नगरपालिका–४ मा एक युवतीले युवकमाथि चक्कु प्रहार गरेकी छिन् । बिहीबार अपराह्न भएको घटनामा १७ वर्षीया अनिशा मण्डलले २४ वर्षीय अशोककुमार महतोमाथि धारिलो हतियारले घाँटीसहित शरीरका विभिन्न भागमा प्रहार गरेकी हुन् ।
गोलबजार–२ की अनिशा र गोलबजार–१३ निवासी अशोकबीच प्रेम सम्बन्ध रहेको बताइए पनि आक्रमणको कारण खुल्न बाँकी छ। अशोक सो स्थानमा कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार युवती केही समयका लागि ती युवकको कोठामा पुगेपछि अचानक चक्कु प्रहार गरेकी हुन् । घटनापछि घाइते अवस्थामा रहेका अशोकलाई स्थानीयले उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरेका छन् ।
उनकाे अवस्था गम्भीर रहेको बताइएको छ । यता, आक्रमणपछि युवतीले छतमाथिबाट हाम फाल्ने प्रयास गर्दा आफैँ पनि घाइते भएकी छिन् । स्थानीयले देखेपछि उनलाई समेत उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको छ ।घटनाको प्रकृति हेर्दा मानसिक तनाव वा आपसी विवादको विषय हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि विस्तृत अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ । डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।