बाराको कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा जेठ २९ गते भएको कुटपिटबाट नन्दु राउत कुर्मीको मृत्यु भएको घटनामा संलग्न ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले शुक्रबार पत्रकार सम्मेलनमार्फत आरोपितहरूलाई सार्वजनिक गरेका हुन् । घटनाबारे मृतकका छोरा २६ वर्षीय दिपेन्द्र पटेलको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जाहेरीअनुसार घटना कलैया उपमहानगरपालिका वडा नं. १४ स्थित उमेश साहको राइस मिल अगाडि भएको थियो, जहाँ कुटपिटमा गम्भीर घाइते भएका नन्दुलाई तत्काल कलैया अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मुख्य अभियुक्तहरूमा उमेश जैसवाल, उनकी श्रीमती रञ्जु देवी (३५), छोरा सुमित जैसवाल (२०), सुजित कुमार जैसवाल (१८), अमित जैसवाल (२५) र दिगम्बर प्रसाद जैसवाल (३४) रहेका छन् । पक्राउ परेका सबैजना कलैया उपमहानगरपालिका–१४ बघवन टोलका स्थायी बासिन्दा हुन् ।
मुख्य अभियुक्त उमेश जैसवाललाई बाराको विश्रामपुर गाउँपालिका वडा नं. ४ स्थित खुदिया टोलबाट बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादबाट हत्या
प्रहरी अनुसन्धानअनुसार मृतकको श्रीमतीले उमेश जैसवालको कान्छो छोरा सुजित कुमार जैसवाललाई हातपात गरेकी थिइन् । मृतककी नातिनी र करैयामाई गाउँपालिका वडा नं. ७ निवासी गौतम पासवानबीचको भेटघाटलाई लिएर विवाद भएको थियो । उक्त रिसीवीका कारण आरोपितहरूले मिलमा काम गरिरहेका नन्दुलाई समूहमा गई कुटपिट गरेका थिए ।
सोही कुटपिटबाट नन्दु गम्भीर घाइते भई मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।