जगरनाथपुर गाउँपालिकाभित्र रहेका २८ वटा विद्यालयका शैक्षिक रूपमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
शैक्षिक क्षेत्रमा प्रोत्साहनका लागि आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मानस्वरूप पोशाक वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी; नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठी; नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुर शिरा लगायत विभिन्न विद्यालयहरूमा क्रमशः आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष यादवले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र अध्ययनमा लगाव बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । “हाम्रा विद्यार्थीहरूलाई अझ मेहनती र उत्कृष्ट बनाउन प्रोत्साहनात्मक कार्यक्रम आवश्यक छन्,” उनले भने, “आजको पोशाक वितरण कार्यक्रमले उनीहरूमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिएको छु । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोस्लिम अंसारी, वडा नं ५ का वडा अध्यक्ष बिहारी महतो नुनिया, मसिहानी माविका प्रधानाध्यापक हस्मोदिन राउत गद्दी, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

जगरनाथपुर गाउँपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्दै विद्यालय सुधार, शैक्षिक पूर्वाधार विस्तार र विद्यार्थी क्षमताको अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।