प्रतिनिधिसभाको आजको बैठक सुरू भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणको छानबिन र गृहमन्त्रीको राजीनामाको माग गर्दै दुवै दलले संसद् बैठक बहिष्कार गरेका हुन् । रास्वपाका सांसद शिव नेपालीले आकस्मिक समयमा बोल्दै संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने प्रयास भइरहेको गुनासो गरे । उनले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीबारे उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग दोहोर्याएका छन् ।
सत्तारूढ पक्षले भने विपक्षी दलहरूको मागप्रति प्रतिक्रिया नदिए पनि संसद् बैठक अगाडि बढाएको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ ।
वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूबाट जवाफ लिने कार्यसूची बैठकमा समावेश गरिएको छ ।
त्यस्तै, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथिको छलफलपश्चात् सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ ।