वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए उनीहरूको बैंकिङ कारोबार र यात्रा अनुमति रोक्का गर्ने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभिन्न मितिमा २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तीमध्ये एक जना व्यवसायी रविन गुरुङ पक्राउ परिसकेका छन् ।
विभागले सोमबार सार्वजनिक गरेको सूचनामा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भए पनि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।
‘पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको मितिभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम निजहरूको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायत आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ,’ विभागको सूचनामा उल्लेख छ ।
विभागले तोकिएको समयभित्र सम्पर्कमा नआउने व्यक्तिमाथि कानुनअनुसार थप कारबाही गरिने जनाएको छ ।
मलेसियाले छनोट गरेका २५ म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी
गत भदौको पहिलो साता मलेसियाले नेपालसहित १० वटा स्रोत देशबाट श्रमिक भर्ना गर्न विभिन्न कम्पनी छनोट गरेको थियो । त्यसक्रममा नेपालका २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी’ र २५० वटा कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ का रूपमा छनोट गरिएको थियो ।
यसरी छनोट भएका कम्पनीका सञ्चालकसहितका व्यवसायीमध्ये २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको विभागले जनाएको छ ।
पक्राउ पुर्जी जारी भएका व्यवसायीलाई सम्पर्कमा ल्याउन विभागले ३५ दिनको समयसीमा तोकेको हो । तोकिएको अवधिमा उपस्थित नभए बैंकिङ कारोबार तथा यात्रा अनुमति रोक्का गर्नेलगायत कानुनी प्रक्रिया अघि बढाइने विभागको चेतावनी छ ।