जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहका ६५ वर्षीय काका बासुदेवप्रसाद विमलको हत्या उनकै ज्वाँइबाट भएको छ ।
बुधबार बिहान जनकपुरधाम–१५ कुवारामपुरस्थित आफ्नै घरमा विमलको चक्कु प्रहारबाट हत्या गरिएको हो । प्रहरीका अनुसार हत्या विमलका ज्वाँइ बेचन महासेठ (उमेर ४८), स्थायी ठेगाना जनकपुरधाम–२१ कुर्था, ले गरेका हुन् । केही समयदेखि ससुरा र ज्वाँइबीच पुरानो लेनदेन र जग्गासम्बन्धी विवाद चल्दै आएको थियो ।
पुरानो विवादको परिणति
स्थानीय बासिन्दाका अनुसार, बासुदेवप्रसाद विमलले विगतमा आफ्ना ज्वाँइ बेचन महासेठसँग ८० हजार रुपैयाँ ऋण लिएका थिए। सो रकमको सट्टा एक कठ्ठा जग्गा दिने सहमति गाउँका भरपर्दा व्यक्तिहरू र जनकपुरधामका मेयर साहकै रोहबरमा भएको पञ्चायतमार्फत तय गरिएको थियो ।
तर, पछिल्लो समय सो जग्गाको मूल्यवृद्धि भएसँगै विमलले जग्गा दिन आनाकानी गर्न थालेका थिए । पटक–पटक सम्झाउँदा पनि विमल नमान्दा आक्रोशित भएर ज्वाँइ महासेठले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारपछि मृत्यु
बुधबार बिहानै विवाद चुलिएपछि महासेठले विमलको पेटमा धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते विमललाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । तर, उपचारकै क्रममा बिहान साढे १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
आरोपी फरार, अनुसन्धान जारी
घटनापछि आरोपी ज्वाँइ बेचन महासेठ फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार घटना घरायसी र जग्गासम्बन्धी विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार अभियुक्तको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।