बाराको कोल्हबी नगरपालिका–१ का तीन युवकलाई मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबाट चोरी गरिएका पाँचवटा मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बाराको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी लुकाएर राखिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट बरामद गरिएका मोटरसाइकलहरू निम्नानुसार छन्:
- प्र.२–०३–००६ प ६५१५ नम्बरको होन्डा कम्पनीको साइन
- ना. ४८ प ६९७० नम्बरको टिभिएस कम्पनीको मोटरसाइकल
- बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर
- ना. ६५ प. ८८६० नम्बरको टिभिएस कम्पनीको रातो-कालो रङको स्ट्राइकर
- प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङको स्ट्राइकर
पक्राउ परेका व्यक्तिहरूविरुद्ध चोरीसम्बन्धी मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।