सामाजिक अभियन्ता महावीर पुनले व्यवहारिक अनुसन्धान तथा नवप्रवर्तनका विषयमा कानुन निर्माणमा सरकारले बेवास्ता गर्दै आएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लेखेका छन्, “कुलिङ पिरियड नराख्न छलछाम गर्ने र नेपालीले पनि प्राइभेट हवाईजहाज राख्न पाउने कानुन बनाउन हतार गर्ने, तर व्यवहारिक अनुसन्धान र नवप्रवर्तनको लागि कानुन बनाउन जालझेल गर्ने केही नेताहरूको टोली र केही सचिवहरूले देश डुबाउँछन् ।”
उनको अनुसार सरकारका केही नेताहरू र उच्चपदस्थ सचिवहरूले राष्ट्रको दीर्घकालीन विकास र नवप्रवर्तन प्रवर्द्धनको सट्टा, व्यक्तिगत र सीमित वर्गको हितका लागि नीति बनाउने प्रवृत्ति देखाएका छन् ।महावीर पुनले लामो समयदेखि अनुसन्धान, नवप्रवर्तन र विज्ञान प्रवर्द्धनका लागि छुट्टै कोष तथा नीतिगत संरचना निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । तर, उनका अनुसार राज्य संयन्त्रले यस विषयमा गम्भीरता देखाएको छैन ।
उनको भनाइ सामाजिक सञ्जालमा भाइरल बनेको छ भने धेरैले समर्थन जनाएका छन्। केहीले भने उनको अभिव्यक्तिलाई राजनीतिक रूपमा पेचिलो शैलीमा आएको भन्दै आलोचना पनि गरेका छन् ।