नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरूको संयुक्त प्रयासमा HP-Algebra नामक नयाँ बीजगणितीय (Algebraic) संरचनाको अवधारणा सार्वजनिक गरिएको छ ।
"An Introduction to HP-Algebras: Axiomatic Foundations and Basic Theory" शीर्षकको अनुसन्धानले अमूर्त बीजगणित (Abstract Algebra) मा नयाँ सैद्धान्तिक आधार प्रस्तुत गर्दै भविष्यका गणितीय अनुसन्धानका लागि नयाँ बहसको सुरुआत गरेको छ । उक्त अन्तर्राष्ट्रिय अनुसन्धान टोलीमा भारतका के. पेरारासन, एम. वासुकी, बी. मोहम्मद हरिफ र ए. दिनेश कुमार, नेपालको मधेश विश्वविद्यालयका प्रोफेसर डा. अञ्जय कुमार मिश्र (Ph.D., D.Litt.) तथा संयुक्त राज्य अमेरिकास्थित ब्रेनाए विश्वविद्यालयका एम्बोनिगाबा सेलेस्टिन सहभागी रहेका छन् ।
अनुसन्धान टोलीका अनुसार HP-Algebra सम्बन्धी अध्ययन Digital Operations Management अन्तर्गत सञ्चालन भइरहेको दीर्घकालीन अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाको महत्वपूर्ण हिस्सा हो। यस परियोजनाका प्रमुख अनुसन्धानकर्ता (Principal Investigator) प्रोफेसर डा. अञ्जय कुमार मिश्र रहेका छन् । परियोजना International American Council for Research and Development (IACRD), USA–India को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको जनाइएको छ ।
परियोजनाले डिजिटल सञ्चालन व्यवस्थापन, गणितीय मोडलिङ, कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), डेटा विज्ञान (Data Science), कम्प्युटेसनल विश्लेषण तथा निर्णय प्रणालीसँग सम्बन्धित अन्तरविषयक अनुसन्धानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
अनुसन्धानमा HP-Algebra लाई Asymmetry Axiom, Transitive Difference Axiom र Left Identity/Dominance Axiom गरी तीन आधारभूत गणितीय सिद्धान्तमा आधारित नयाँ बीजगणितीय संरचनाका रूपमा परिभाषित गरिएको छ। यस अवधारणालाई थप विस्तार गर्दै HP-Subalgebra, HP-Normal Subalgebra र HP-Isomorphism जस्ता संरचनात्मक सिद्धान्तहरूको समेत विकास गरिएको छ ।
अध्ययनको अर्को महत्वपूर्ण पक्ष भनेको यसमा प्रस्तुत गरिएका २९ भन्दा बढी प्रमेय (Theorems) हुन् । ती प्रमेयमार्फत HP-Algebra का आधारभूत गुण, सञ्चालनका नियम, उपसंरचनाको निर्माण प्रक्रिया तथा संरचनागत समानतालाई गणितीय रूपमा प्रमाणित गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अनुसन्धान टोलीका अनुसार HP-Algebra हाल सैद्धान्तिक अवधारणाका रूपमा प्रस्तुत भए पनि भविष्यमा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डेटा विज्ञान, कम्प्युटेसनल गणित, नेटवर्क विश्लेषण, निर्णय सहायता प्रणाली, सूचना प्रवाह मोडलिङ तथा सफ्टवेयर एल्गोरिदम विकासजस्ता क्षेत्रमा यसको सम्भावित उपयोगबारे थप अनुसन्धान गर्न सकिने सम्भावना रहेको छ ।
शिक्षाविद्हरूले पनि यस अनुसन्धानले विश्वविद्यालय तहमा अमूर्त बीजगणित, आधुनिक बीजगणित, अनुप्रयुक्त गणित, कम्प्युटेसनल गणित तथा गणितीय मोडलिङका अध्ययन र अनुसन्धानलाई नयाँ दिशा दिन सक्ने बताएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार HP-Algebra को वैज्ञानिक महत्व, उपयोगिता र व्यापक स्वीकार्यता आगामी दिनमा हुने थप अनुसन्धान, सहकर्मी समीक्षा (Peer Review) तथा व्यावहारिक परीक्षणपछि अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।
नेपाल, भारत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरूको संयुक्त प्रयासमा सम्पन्न यस अनुसन्धानले नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय शैक्षिक योगदानलाई समेत उजागर गरेको छ ।