आज देशभर आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली हुने छ। पहाडी क्षेत्रमा केही स्थानमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा सम्भव छ ।
लुम्बिनी, कर्णाली, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।