नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव नेतृत्वको समूह र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्नेसम्बन्धी सहमति भएको छ । दुबै पार्टीबीच माओवादीको आगामी महाधिवेशनसँगै एकता टुंगो लगाउने समझदारी बनेको हो ।
नेसपाका सहअध्यक्ष गंगानारायण यादव माओवादीमा प्रवेश गरेपछि अध्यक्ष महिन्द्र राय यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए । पुनर्गठित पार्टीको केन्द्रीय समितिको निर्णयसहित अध्यक्ष यादवले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा भेटवार्ता गरेका थिए ।
भेटका क्रममा अध्यक्ष यादवले आफू एकताप्रति सकारात्मक रहेको भन्दै पार्टीको नाम, झण्डा, ब्यानरलगायत विषयहरू चाँडै टुंगो लगाउन आग्रह गरेका थिए । उनले भने, ‘हामी सिङ्गै पार्टी एकता गरौँ भनेर तयार छौँ । एकताको विषयमा पहिला बाबुरामजीले प्रचण्डजीसँग सहमति गर्नुभयो, तर बिचैमा छाडेर जानुभयो । पछि सहअध्यक्ष गंगानारायणजी पनि सहमतिमै माओवादीमा जानुभयो । त्यसपछि हामीले पार्टी पुनर्गठन गर्यौँ ।
यादवका अनुसार सिंहदरबारमा भएको छलफलमा प्रचण्डले पनि एकताप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । यादवले भने, ‘हामीले महाधिवेशनसँगै पार्टी एकता टुंग्याउने प्रस्ताव राखेका छौँ । उहाँ (प्रचण्ड) पनि सकारात्मक देखिनुहुन्छ ।
अध्यक्ष यादवले पार्टीको नाम जे भए पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताएका छन् । जवाफमा प्रचण्डले हाल माओवादी केन्द्रले सञ्चालन गरिरहेको जागरण अभियानपछि केन्द्रीय समिति बैठक राख्ने र सो बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी गराएको यादवले बताए ।
यस समझदारीअनुसार, नेसपाले अहिले राष्ट्रिय भेला वा महाधिवेशन नगरी संगठन विस्तारमा केन्द्रित हुने जनाएको छ ।