सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस डिलको अडियो सार्वजनिक भएपछि सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।
सार्वजनिक अडियोमा मन्त्री गुप्ता एक विचौलिया मार्फत भूमी आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गर्न र कास्की मालपोत कार्यालयका पूर्वप्रमुख हाल लमजुमका कार्यालय प्रमुख रहेका रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि घुस रकम माग गरिरहेको स्पष्ट सुनिन्छ । अख्तियार स्रोतका अनुसार आयोगले मन्त्री गुप्तालाई सोधपुछका लागि फोन सम्पर्क समेत गरेको छ ।
अडियोमा ‘सुजन’ नामका एक व्यक्तिसँग मन्त्रीले खेम पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्ने विषयमा आर्थिक लेनदेन गरिरहेकाे सुनिन्छ । सोही अडियोमा एक महिलाले समेत मन्त्रीलाई नियुक्ति र सरुवाका लागि दबाब दिइरहेको सुनिन्छ । यस प्रकरणमा दुई झोला भरि रकम मन्त्रीले लिएको दाबी गरिएको छ भने अख्तियारमा दर्ता नं. C–078555 मा नोट नम्बर र फोटोसहित उजुरी दर्ता गरिएको थियाे ।
मन्त्री गुप्ता सत्तारुढ नेकपा एमालेका प्रभावशाली नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । उनीमाथि पहिले पनि कर्मचारी सरुवा र थमौतीमा चलखेल गरेको आरोप लाग्दै आएको थियो । यसअघि मन्त्रालयका स्वकीय सचिव शिव पटेलले एक प्रशासकीय अधिकृतसँग ७ देखि ९ लाख रुपैयाँमा सरुवाको डिल गरेको भन्दै ह्वाट्सएप चाट नै बाहिरिएका थिए ।
अख्तियारमा बुझाइएको अडियो रेकर्ड अनुसार गुप्ताले लमजुङ मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न व्यापारीसँग ५३ लाख रुपैयाँ घुस मागेको उल्लेख छ । यसबाहेक भूमि आयोगको सदस्य बनाउन अर्को २५ लाख मागिएको आरोप समेत उजुरीमा छ ।
अडियोमा गुप्ताकी नातेदार भनिएकी ‘मेलिना’ नामक महिलामार्फत घुस रकम सङ्कलन भएको, रकम मन्त्री निवास मै ल्याउन गाडी नम्बर समेत निर्देश गरिएको उल्लेख छ ।
त्यसैगरी, अडियोमा मन्त्री गुप्ता “पशुपतिनाथको कसम खाएर” भन्ने भावुकता प्रकट गरिरहेका छन् । उनले “पहिले लस्सी, त्यसपछि माछा अनि रक्सी खाने” जस्ता प्रलोभन दिँदै सार्वजनिक पदको दुरुपयोग गरी निजी लाभ लिने नियत प्रकट गरेका छन् ।
अख्तियारले उक्त उजुरीमा उल्लेख प्रमाणलाई आधार मानेर प्रारम्भिक अनुसन्धान थालेको र आवश्यकता अनुसार थप प्रक्रिया अघि बढाइने जनाएको छ । छानविनका लागि अख्तियारले मन्त्री गुप्तालाई फोन गरी प्रारम्भिक विषयहरू बारे सोधपुछ गरेका छन् भने, यो प्रकरणमा मन्त्री राजकुमार गुप्ताको पद जिम्मेवारी र नैतिकता सम्बन्धी प्रश्न समेत तेर्सिएकाे छ ।
सम्बन्धीत समाचार
भिडियाे सामाग्री