जनमत पार्टीभित्रको आन्तरिक विवाद अब हिंसात्मक रूप लिँदै सडकमा आएको छ । पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि बारामा मोसो छ्याप्नुका साथै प्रज्वलनशील पदार्थ प्रहार गरिएको छ ।
उक्त आक्रमण जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकट मानिने केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा भएको बताइएको छ ।
निलम्बित नेताहरूले पार्टीभित्रको असन्तुष्टि उजागर गर्दै ‘पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा’ सुरु गरेका थिए। आइतबार बिहान बाराको महागढीमाई नगरपालिका–३, दहियारमा खाना खाएर कार्यक्रमस्थलतर्फ जाँदै गर्दा उनीहरूलाई लक्षित गरी आक्रमण गरिएको हो ।
इन्जिनियर दीपक कुमार साहले आफूहरूमाथि डा. सीके राउतले ज्यान मार्ने उद्देश्यले पार्टीभित्रकै केही ‘गुण्डा’हरू परिचालन गरेको आरोप लगाए । उनले भने, ‘हामी सुरक्षित छौं, कुनै ठूलो क्षति भएको छैन। हामी डराएर अभियानबाट भाग्ने छैनौं । हाम्रो मृत्युपश्चात् पनि यो अभियान जारी रहनेछ, किनभने हामीले मृत्यु दस्तावेजमा हस्ताक्षर गरेर अभियान थालेका हौं ।’
उनले आम जनतालाई डा. राउतका ‘कर्तुत’ बुझ्न र चिन्न पनि आग्रह गरेका छन्।
सार्वजनिक भएको एक भिडिओमा साह, यादव र सुनार सवार गाडीलाई विकास सिंह नेतृत्वको समूहले घेरा हाल्दै कालो मोसो फ्याँकेको देखिन्छ । ‘दीपक साह मुर्दावाद’ जस्ता चर्का नाराहरू पनि भिडिओमा सुनिन्छन् ।
विकास सिंहले भने निलम्बित उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्र यादवले पार्टीविरुद्ध गतिविधि गर्दै संगठनलाई भाँड्न खोजेको आरोप लगाउँदै आफूहरूले मोसो प्रहार गरेको स्वीकार गरेका छन् ।
यो घटनाले जनमत पार्टीभित्रको विवाद गहिरिँदै हिंसात्मक मोड लिएको पुष्टि गरेको छ ।