वीरगंजको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि औपचारिक रूपमा वीरगन्ज भन्सार कार्यालयमा गाभिएको छ ।
संघीय सरकारको निर्णयअनुसार अबदेखि एकीकृत भन्सार प्रणाली अन्तर्गत सेवा प्रवाह सुरु भएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार एकीकृत व्यवस्थाले सेवाग्राहीलाई सहजता मिल्नुका साथै प्रशासनिक व्ययभारसमेत कम हुने अपेक्षा गरिएको छ । यसअघि वीरगंज भन्सार कार्यालय अन्तर्गत एकीकृत जाँचचौकी (आईसीपी) सञ्चालनमा रहे पनि, सुक्खा बन्दरगाह भन्सार कार्यालय भने रेलमार्ग हुँदै हुने सामानको आयात–निर्यातका लागि छुट्टै रूपमा क्रियाशील थियो । अबदेखि सुक्खा बन्दरगाहको भौतिक संरचना, कर्मचारी र सेवा प्रक्रियाहरू सबै वीरगंज भन्सारमा समाहित हुने छन् ।
यससँगै आयात–निर्यात, भन्सार जाँच र राजस्व संकलनजस्ता सम्पूर्ण प्रक्रिया एकीकृत भन्सार प्रणाली अन्तर्गत एकै स्थानबाट सहजीकरण गरिने भएको हो । गत आर्थिक वर्षमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले ४९ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । यो तथ्याङ्कले सुक्खा बन्दरगाहको भन्सार कारोबारमा खेलेको भूमिकाको महत्त्व दर्शाउँछ । भन्सार प्रशासनले अब सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा पूर्वाधार तयार पार्ने कार्यमा जोड दिएको छ । व्यवसायी तथा सेवाग्राहीहरूले एकीकृत प्रणालीबाट प्रक्रियाहरू सहज, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गरेका छन् ।
भन्सार स्रोतका अनुसार यो संरचनात्मक परिवर्तनले वीरगन्जलाई अझ सक्षम र व्यवस्थित व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।