पवित्र तीर्थस्थल देवघाटधाममा आज शुक्रबारदेखि साउने मेला सुरु भएको छ । मेलाको पहिलो दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । बोलबमको नारा लगाउँदै भक्तजनहरूले स्नान गरी शिवालयमा जल चढाउने क्रम चलिरहेको छ ।
साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। त्यसैले यो महिनाभर भक्तजनहरू व्रत बस्ने, जल अर्पण गर्ने र शिवको पूजा–आराधना गर्ने गर्छन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्षको साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । विशेषगरी साउनको सोमबारहरूमा अत्यधिक भिडभाड हुने अपेक्षा गरिएको छ ।
भक्तजनको भीड र सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासनको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बरालले जानकारी दिए ।
स्थानीय धार्मिक विश्वास अनुसार, साउन महिनामा देवघाटमा स्नान गरी व्रत बसेर जल र बेलपत्र अर्पण गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।