हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शुक्रबार) दिउँसो देशभर सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। तीमध्ये केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरू, मधेस प्रदेशसहित पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यस वर्षा र सम्भावित जोखिमका कारण ठूला तथा साना नदी, नाला तथा खोलामा पानीको सतह उच्च हुनसक्ने, जनजीवन प्रभावित हुनसक्ने, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत अवरुद्ध हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता र पूर्वतयारी गर्न भनिएको छ ।