प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नहुने र श्रमिकको सम्मान बिना समृद्धि सम्भव नहुने बताएका छन् । साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षालाई सुदृढ बनाउने क्रममा अघि बढिरहेको उल्लेख गर्दै लेखेका छन्, "यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन् ।"
सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सय रुपैयाँबाट बढाएर १९ हजार ५ सय ५० रुपैयाँ बनाउने निर्णय गरिसकेको छ । यसबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, "श्रमिकलाई एक मुट्ठी भरोसा महत्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल !"