सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साले गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमालको नेतृत्वमा विगत आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्व सङ्कलन, अवैध गतिविधि नियन्त्रण, विपद् उद्धार र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
सीमा सुरक्षा र समुदायको कल्याणमा क्रियाशील रहेर सशस्त्र प्रहरीले राष्ट्रिय सुरक्षामा समेत प्रभावकारी योगदान दिएको छ । गत वर्षको अवधिमा करिब २९ करोड रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरिएको सशस्त्र प्रहरीको तथ्यांकले देखाएको छ ।
सशस्त्र प्रहरीका अनुसार, वीरगञ्ज नाकासहित पर्सा जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार राजस्व छल्दै भित्र्याइएका कपडा, हार्डवेयर, मोटरपार्ट्स, औषधिजस्ता सामानहरू २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ बराबर बरामद गरिएका हुन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहका अनुसार, सबैभन्दा बढी भदौ महिनामा ३ करोड ५६ लाख ६४ हजार रुपैयाँ बराबरको र सबैभन्दा कम १ करोड ५५ लाख ३ हजार रुपैयाँको सामान बरामद गरिएको थियो ।
बरामद गरिएका सामानमध्ये ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको मालसामान बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ भने बाँकी वीरगञ्ज भन्सार कार्यालयमा हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसबाहेक, हुन्डी कारोबार अन्तर्गत स्रोत नखुलेको १ करोड १५ लाख ९० हजार २२ रुपैयाँसहित २१ जनालाई पक्राउ गरिएको छ ।
डिएसपी सिंहका अनुसार, लागूऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरी सक्रिय रहेको छ । एक वर्षको अवधिमा पर्साका विभिन्न स्थानबाट ४२३ केजी गाँजा, ३९ केजी चरेस, ३.२ ग्राम खैरो हेरोइन, २ लाख २३ हजार ३९० पिस ट्रामाडोल र ६ हजार ८७६ पिस नाइट्रोभेट बरामद गरिएको छ। साथै १६ बिघा ५ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।
एसपी राधेश्याम धिमालको नेतृत्वमा सशस्त्र प्रहरी बलको गतिविधिले सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाएको र तस्करी, हुन्डी तथा लागुऔषधजस्ता आपराधिक क्रियाकलापहरूमा प्रभावकारी नियन्त्रण गरिएको स्थानीयवासीहरूले बताएका छन् ।