हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरकिएकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना देखिएको हो ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । तीमध्ये केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।