वीरगंजको ऐतिहासिक त्रिजुद्ध माध्यमिक विद्यालयको सम्पत्तिमा आँखा लगाउँदै विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया दाता परिवारलाई जानकारी नदिई अघि बढाइएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनका लागि शुक्रबार आह्वान गरिएको अभिभावक भेलाबारे विद्यालय दाता परिवारलाई कुनै जानकारी गराइएको छैन् । विद्यालयका सदस्य सचिव समेत रहेका प्रधानाध्यापक नविन मिश्रले यसबारे प्रश्न गर्दा “नियममा जानकारी गराउनु पर्ने भए गर्छौं नि” भन्ने प्रतिक्रिया दिएका छन् । तर विद्यालय शिक्षा ऐेनले दाता परिवारका प्रतिनिधिलाई व्यवस्थापन समितिमा सहभागी गराउनु पर्ने स्पष्ट व्यवस्था छ । कानुनविपरीत प्रक्रिया अघि बढाइनु नियतवश रहेकाे दाता परिवारले आरोप लगाएका छन् ।
सम्पत्तिमा आँखा, संरक्षणमा हिनामिना
त्रिजुद्ध स्कुल वीरगंजको सबैभन्दा पुरानो र ऐतिहासिक शैक्षिक संस्था मानिन्छ, जसको स्थापना गरिब, निमुखा तथा दलित समुदायका बालबालिकाले शिक्षाबाट वञ्चित नहोऊन् भनेर स्थानीय दाता परिवारले गरेका थिए । विद्यालयको कम्पाउण्ड अगाडि हालसालै सटर विस्तारको नाममा फिल्ड बिगारेर संरचना विस्तार गरिएको छ, जसले विद्यालयको मूल संरचनामा नै असर पुर्याएको छ ।
लालघर भनिने पुरातात्विक महत्वको भवन भत्काइएकाले मात्र होइन, त्यहाँ प्रयोग भएका बहुमूल्य काठ समेत हिनामिना भएको स्रोतको दाबी छ । विद्यालयकै आन्तरिक स्रोतले जानकारी दिएअनुसार यी गतिविधिहरू विद्यालय प्रमुख कै मौन सहमतिमा भइरहेको छ ।
दाता परिवारलाई बेवास्ता
विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयको दाता परिवारलाई पूर्वजानकारी, परामर्श वा प्रतिनिधित्व दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ । तर वीरगंज महानगरपालिका र विद्यालय प्रशासनको मिलेमतोमा व्यक्तिगत स्वार्थका लागि समिति गठन गर्न खोजिएको आरोप लागेको छ ।
दाता परिवारका सदस्य एकजनाले नाम नखुलाउने सर्तमा भने, “स्कुलमा के हुँदैछ हामीलाई थाहा नै छैन । जसमाथि हामीले भरोसा गरेर शिक्षा क्षेत्रको विकासका लागि लगानी गर्यौं, आज उनीहरूकै स्वार्थका लागि हामीलाई पन्छाइँदछ ।” कसरी विद्यालयको सम्पत्ति हात पार्ने, भाडामा लगाउने शिक्षक नियुक्तिमा खाने लगायतमा केन्द्रित रहेको स्रोतको दाबी छ । यसअघि ३० लाख बढी लिएर आधा दर्जन बढीलाई नियुक्ति समेत गरेको स्रोतको दाबी छ ।
त्रिजुद्ध स्कुल स्थानीय सरकार रहेकाे वीरगंज महानगरपालिकाको जिम्मामा पर्ने भए पनि महानगरका शिक्षा शाखा र जिम्मेवार जनप्रतिनिधिहरूले सम्पत्ति हिना मिनाको विषयमा मौनता साधेको देखिन्छ । विद्यालय व्यवस्थापन समितिमा महानगरका प्रतिनिधि समेत रहने भएकाले उनीहरूको संलग्नता वा मिलेमतो बारे पनि प्रश्न उठ्न थालेका छन् ।
विद्यालयको मूल्यवान सम्पत्ति र भौतिक पूर्वाधारमा आँखा लगाउने केही स्वार्थ समूहहरू सक्रिय रहेको स्रोतको दाबी छ । प्रधानाध्यापक नविन मिश्र आफैं पनि ती स्वार्थ समूहसँग नजिक रहेको आरोप लागेको छ । स्रोतका अनुसार विद्यालयको सम्पत्ति बेचबिखन गर्ने, भाडामा दिने वा निजी स्वार्थमा प्रयोग गर्ने नियोजित योजना अन्तर्गत समिति गठन गरिन लागिएको हो ।
भिडियाे सामाग्री